हाम्रो बारेमा
(क) ऐतिहासिक पृष्ठभूमि
लोदे मेहेलकुना नयाँ बस्तीको शुरुवात वि.सं. २०२२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य, स्वर्गीय श्री चन्द्रबहादुर बुढामगरको सक्रिय पहलमा भएको थियो। नयाँ बस्ती स्थापना भएपछि यस ठाउँमा जङ्गल फडानी गरी बसोबास गर्न छिमेकी जिल्लाहरू सल्यान, रोल्पा, रुकुम, जाजरकोट, दैलेख, दाङ लगायत सुर्खेत जिल्लाका विभिन्न स्थानहरूबाट मानिसहरू आउने क्रम बढ्यो। बढ्दो बस्तीसँगै शिक्षाको आवश्यकता पनि महसुस गरियो, जसलाई सम्बोधन गर्न तत्कालीन समाजसेवी स्वर्गीय श्री चन्द्रबहादुर बुढामगरकै अगुवाइमा वि.सं. २०२४ सालमा विद्यालय खोल्ने प्रयास प्रारम्भ भयो।
हाल सञ्चालनमा रहेको यस विद्यालयको प्रारम्भिक स्वरूप वि.सं. २०२४ सालमा भेरी नदी किनारको खैरेनी भन्ने स्थानमा "शीतला प्राइमरी स्कुल" को नामबाट स्थापना भएको थियो। स्थापनाकालीन शिक्षकहरूमा स्थानीय व्यक्तित्व श्री शेरबहादुर बुढा, लेखफर्सा निवासी श्री ऋषिप्रसाद शर्मा र घुमखहरे निवासी श्री डिल्लीप्रकाश आचार्यले अध्यापन सेवा प्रदान गर्नुभएको थियो। क्रमशः स्थानीय समुदायमा शिक्षाको महत्त्व बढ्दै गएपछि उक्त विद्यालयलाई हालको मेहेलकुना बजारभित्र, छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने स्थानमा स्थानान्तरण गरियो। वि.सं. २०२७ सालमा यस विद्यालयले सरकारी मान्यता प्राप्त गरी "श्री शीतला राष्ट्रिय प्राथमिक विद्यालय" को नामले परिचित भयो। त्यस समयमा कक्षा ३ सम्मको अध्ययनलाई प्राथमिक तह मानिन्थ्यो।
प्राथमिक तहको शिक्षाले मात्र स्थानीय आवश्यकता पूर्ति हुन नसकेपछि, निम्न माध्यमिक तहको विद्यालय स्थापना गर्न स्थानीय अगुवाहरू अग्रसर हुनुभयो। श्री चन्द्रबहादुर बुढामगर, श्री शेरबहादुर बुढामगर, श्री बलबहादुर खत्री, श्री मानबहादुर खत्री, श्री बेतप्रसाद खड्का, श्री प्रताप पुन, श्री जयबहादुर कार्की, श्री खड्कबहादुर वली, श्री पर्शुराम कामी, श्री पृथ्वीबहादुर चन्द, श्री डब्बलसिंह कामी, श्री अमरबहादुर खड्का, श्री चित्रबहादुर थापा, श्री तुलाराम शर्मा, श्री हरिहर रेग्मी, श्री गुरुप्रसाद पौडेल, श्री भुपेन्द्र चन्द, श्री चन्द्रबहादुर खत्री, श्री कुले राना, श्री लोकबहादुर खत्री, श्री हिमसिंह थापा, श्री बलबहादुर खत्री (वडा नं. ६), श्री हस्तवीर खत्री, श्री नरबहादुर विष्ट, श्री अमरबहादुर खड्का र श्री नरबहादुर पुन (सचिव) लगायत अन्य व्यक्तित्वहरूको अथक प्रयास र सक्रियतामा वि.सं. २०३३ सालमा कक्षा ७ सम्म अध्यापन हुने गरी "सूर्य ज्योति निम्न माध्यमिक विद्यालय" ले स्वीकृति प्राप्त गर्यो।
समयक्रमसँगै माध्यमिक तहको शिक्षाको माग बढ्दै गयो। माथि उल्लेखित अग्रजहरूकै सक्रियतामा माध्यमिक विद्यालयको भवन निर्माण गर्ने योजना बन्यो। स्थानीय माटो प्रयोग गरी इँटा निर्माण गर्न बाहिरबाट मिस्त्रीहरू ल्याइयो भने आवश्यक काठपात स्थानीय खेतबारीबाटै जुटाइयो। भवन निर्माणका लागि आवश्यक मिस्त्री तथा मजदुर खर्च जुटाउन गाउँबासीहरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग सङ्कलन गरियो। अझ, वि.सं. २०३६ सालमा भवनको छाना छाउनका लागि तत्कालिन रूकुम (हालको रूकुम पश्चिम) को गोइरी भन्ने स्थानबाट प्रत्येक घरधुरीबाट एक-एक जनाले निःशुल्क रूपमा पिठ्युँमा बोकेर ढुङ्गा ल्याउने प्रशंसनीय सामुदायिक श्रमदान भयो। यसरी जनसहभागितामा निर्माण भएको भवनमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न विद्यालयले वि.सं. २०३८ सालदेखि स्वीकृति प्राप्त गर्यो।
शैक्षिक स्तरोन्नतिको क्रमलाई निरन्तरता दिँदै यस विद्यालयले वि.सं. २०६३ सालदेखि शिक्षा सङ्कायमा र वि.सं. २०७० सालदेखि व्यवस्थापन सङ्कायमा समेत कक्षा १०+२ (माध्यमिक तह) का कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ। हाल, सूर्य ज्योति माध्यमिक विद्यालयको समग्र विकास, व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिको दिशा निर्देश गर्न नौं सदस्यीय विद्यालय व्यवस्थापन समिति क्रियाशील रहेको छ।
(ख) हावापानी
गुर्भाकोट नगरपालिका, सुर्खेत जिल्लाको मेहेलकुना क्षेत्र मध्यम पहाडी भूभागमा अवस्थित छ। यहाँको मौसम उपत्यकामा पाइने उपोष्णकटिबन्धीय जलवायुसँग मेल खाने खालको हुन्छ। वर्षभरि तापमान र वर्षा विभिन्न समयमा फरक-फरक हुने गर्छ।
औसत वार्षिक मौसम तथ्यांक
- औसत वार्षिक तापमान: २४°C
- अधिकतम तापक्रम (गर्मीमा): ३८°C
- न्यूनतम तापक्रम (जाडोमा): ६°C
- औसत वार्षिक वर्षा: १६०० मिमी
- प्रमुख वर्षा सिजन: जेठदेखि भदौ
वसन्त ऋतु (फागुन – वैशाख)
- तापक्रम: १५°C – ३०°C
- विशेषता: मौसम चिसोबाट तातोतर्फ जान्छ, हरियाली बढ्छ
गर्मी/मनसुन ऋतु (जेठ – भदौ)
- तापक्रम: २५°C – ३५°C
- वर्षा: वार्षिक वर्षाको करिब ८०%
- विशेषता: अत्यधिक गर्मी र भारी वर्षा, धान खेतीको मुख्य समय
शरद ऋतु (आश्विन – कार्तिक)
- तापक्रम: २०°C – ३०°C
- विशेषता: सफा आकाश, चिसो सुरु हुने संकेत, चाडपर्वको चहलपहल
हेमन्त ऋतु (मंसिर – माघ)
- तापक्रम: १०°C – २५°C
- विशेषता: चिसो मौसम, घाम लागेको बेला सुखद तापमान, गहुँ खेतीको समय
(ग) विद्यालय सामुदायिक पृष्ठभूमि
हाम्रो देश नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक विविधताले सम्पन्न राष्ट्र हो। यसै पृष्ठभूमिमा, सूर्य ज्योति माध्यमिक विद्यालय गुर्भाकोट नगरपालिकाको वडा नं. ८, सुर्खेतमा अवस्थित छ। विद्यालयले आफ्नो मुख्य सेवा क्षेत्रका रूपमा गुर्भाकोट नगरपालिकाका वडा नं. ७, ८ र १२ लाई समेटेको छ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार, यी तीन वडाहरू (७, ८ र १२) को संयुक्त घरधुरी संख्या ३,४४२ रहेको छ भने कुल जनसंख्या १५,६१४ (पुरुष: ७,२९२, महिला: ८,३२२) पुगेको छ। यस क्षेत्रमा विभिन्न जातजातिहरू जस्तै दलित, ब्राह्मण, क्षेत्री तथा विभिन्न जनजाति समुदायको सौहार्दपूर्ण सहअस्तित्व रहेको छ। यहाँका बासिन्दाहरूमा आपसी सहयोग, सद्भाव र मेलमिलापको भावना प्रगाढ छ, जसले सामाजिक एकतालाई मजबुत बनाएको छ। तथापि, सामाजिक विकासका सूचकहरूमा लैङ्गिक समानता र समावेशी विकासका लागि निरन्तर प्रयासहरू आवश्यक देखिन्छ।
यस सेवा क्षेत्रका अधिकांश बासिन्दाहरू हिन्दू धर्म मान्दछन्, साथै केही परिवारले इसाई तथा अन्य आस्था पनि अँगालेका छन्। यहाँ बोलिने प्रमुख भाषा नेपाली हो। आर्थिक दृष्टिकोणले, यस क्षेत्रका धेरैजसो बासिन्दाहरू कृषि तथा पशुपालनमा संलग्न छन्। यद्यपि, परम्परागत कृषि प्रणाली र सीमित रोजगारीका अवसरहरूका कारण धेरै युवाहरू जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुकहरूमा जाने प्रवृत्ति पनि रहेको छ। विद्यालयले यस समुदायको शैक्षिक उन्नति र सामाजिक चेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्दै आएको छ।
(घ) सेवा क्षेत्र
यस विद्यालयको सेवा क्षेत्रले मुख्यतया पवित्र बजार, अस्पताल लाइन, खटाङ, गोकुलपुर, सिरुवानी, सुँगुरखाली र नजिकैको दहचौरका केही भूभागलाई समेट्दछ। यस क्षेत्रमा अन्य शैक्षिक संस्थाहरू पनि रहेका छन्, जसमध्ये प्रा.वि. सिरुवानी करिब १.५ कि.मि. पश्चिममा, प्रा.वि. सुँगुरखाली करिब १.५ कि.मि. दक्षिणमा, नि.मा.वि. घारीमेहेलकुना करिब २ कि.मि. पूर्वमा, र प्रा.वि. शुभघाट भेरी नदी पारी करिब १ कि.मि. उत्तरमा अवस्थित छन्। सेवा क्षेत्रका अधिकांश स्थानबाट विद्यार्थीहरूलाई विद्यालयसम्म पुग्न औसतमा करिब १.५ किलोमिटर दूरी तय गर्नुपर्ने हुन्छ, जसका लागि लगभग आधा घण्टा समय लाग्दछ।
विद्यालयको चारकिल्ला यसप्रकार रहेको छ: पूर्वमा स्वर्गीय चन्द्रबहादुर बुढामगरको जग्गा, पश्चिममा अस्पताल सडकखण्ड, उत्तरमा छिन्चु-जाजरकोट सडक, र दक्षिणमा पनि स्वर्गीय चन्द्रबहादुर बुढामगरको जग्गाले विद्यालय क्षेत्रलाई सिमित गरेको छ। विद्यालय परिसरको पश्चिमपट्टि शिव मन्दिर अवस्थित छ, जहाँ भगवान शिवको मूर्ति स्थापना गरिएको छ। उत्तरतर्फ भेरी नदी र नदी किनारमा फैलिएको खैरेनी सामुदायिक वनले यस क्षेत्रको प्राकृतिक सौन्दर्यतामा अभिवृद्धि गरेको छ। भौगोलिक रूपमा, यो विद्यालय सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरबाट करिब ४६ किलोमिटर पूर्वमा, मेहेलकुना बजारसँगै जोडिएर रहेको छ।